समाचार
प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ
नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट मार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सरकारका विभिन्न तह अन्तर्गतका विषयगत मन्त्रालय तथा निकायहरूबाट संचालन हुने गरेका छन् । यसरी विभिन्न निकायहरूले विकास निर्माण सम्बन्धी कार्यक्रम तथा आयोजनाहरू संचालन गर्दा रोजगारी सिर्जनालाई यथोचित प्राथमिकता दिन नसकेको अवस्था छ ।
रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । यसरी न्यूनतम रोजगारी प्रदान गर्न नसके नेपाल सरकारले हरेक वेरोजगार परिवारलाई एक जना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्ने व्यवस्था छ । तसर्थ सूचीकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिंचाई, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य र समन्वय गरी एकिकृत रुपमा थप आन्तरिक रोजगारी सिर्जना गर्नु पर्ने आवश्यकता छ । यस्तो अवस्थामा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रमहरुमा पर्याप्त संख्यामा थप रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनावद्ध ढंगले तिनीहरुको कार्यान्वयन गर्ने प्रबन्ध गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याउन लागिएको हो ।
यसै कार्यक्रम अन्तरगत यस गाउँपालिकाको वडा नं ५ बाट यस कार्यक्रमको आज मिति २०७६।३।६ गते गाउँपालिका अध्यक्ष ज्यू बाट विधिवत उदघाटन गरी शुभारम्भ गरिएको हो। कुल ३३ लाख बजेट विनियोजन भएकोमा मिति २०७६।०२।३१ को गाउँकार्यपालिकाको बैठकबाट तपशिल बमोजिमको बजेटको अधिनमा रही कार्यक्रम संचालन गर्ने निर्णय गरीएको थियो। वडा नं ५ को आव २०७५।७६ को स्विकृत योजना अन्तरगत विक्रम पर्ता खानेपानी योजनाको बाँकी रहेको काम अन्तरगत खानेपानीको पाईप लाई भूमिगत गर्ने कार्य प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको योजना बाट सम्पन्न गर्ने थालनी गरिएको हो।
वडा नं १
३ लाख
वडा नं २
३ लाख
वडा नं ३
३ लाख
वडा नं ४
९ लाख
वडा नं ५
३ लाख
वडा नं ६
३ लाख
वडा नं ७
३ लाख
वडा नं ८
३ लाख
वडा नं ९
३ लाख